काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार ऐरी एक स्थान माथि उक्लिएर दोस्रो भएका हुन्।
वेष्ट इन्डिजका रोस्टन चेज सात स्थान तल झरेपछि तेस्रो स्थानमा रहेका ऐरी दोस्रो स्थानमा पुगेका हुन्। वरीयताको शीर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या छन् भने तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी, चौथोमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन र पाँचौँमा वेष्ट इन्डिजका रोमारियो सेपहर्ड छन्।
अन्य नेपाली खेलाडीको वरीयतामा मिश्रित परिवर्तन आएको छ। अलराउन्डरतर्फ कुशल भुर्तेल एक स्थान खस्किँदै ३४औँ स्थानमा पुगेका छन् भने गुल्सन झाले एक स्थान सुधार गर्दै ५८औँ स्थानमा उक्लिएका छन्। कप्तान रोहित पौडेल ६८औँ स्थानमा झरेका छन् भने कुशल मल्ल ६९औँ स्थानमा यथावत छन्। करण केसी २ स्थान तल झरेर ६७औँ स्थानमा पुगेका छन्।
टीम वरीयतामा नेपाल टी–२० अन्तर्राष्ट्रियमा १८औँ स्थानमा यथावत रहेको छ।
ब्याटिङ वरीयतामा दीपेन्द्र सिंह ऐरी २ स्थान तल झरेर ६३औँ स्थानमा पुगेका छन्। कप्तान पौडेल ६७औँ स्थानमा छन्। ओपनर आसिफ शेख २ स्थान सुधार गर्दै ७९औँ स्थानमा उक्लिएका छन् भने कुशल भुर्तेल ८५औँ स्थानमा पुगेका छन्।
बलिङ वरीयतामा ललित राजवंशी २ स्थान सुधार गर्दै ५६औँ स्थानमा पुगेका छन्। सन्दीप लामिछाने एक स्थान खस्किएर ७६औँ स्थानमा छन्। दीपेन्द्र बलिङतर्फ ५ स्थान तल झरेर ८२औँ स्थानमा पुगेका छन्।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया