काठमाडौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् र सांसदहरू केवल मतदाताका प्रतिनिधि मात्र नभई अन्तर्राष्ट्रिय सहकार्य सुदृढ पार्ने महत्वपूर्ण माध्यमसमेत भएको बताएका छन्।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सम्बोधन गर्दै सभामुख घिमिरेले विश्वको साझा हितका विषयमा संसद्को भूमिका उल्लेख्य हुने बताए।

advertisement

उनले संसदीय प्रक्रियामार्फत विविध सरोकारवाला पक्षका विचारलाई समेट्दै नीतिनिर्माणमा समावेशीपन कायम राख्न सकिने उल्लेख गर्दै यसले अझ समावेशी, न्यायपूर्ण र समृद्ध विश्व निर्माणमा योगदान पुर्‍याउने धारणा राखे।

“शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य तथा बहुपक्षीयता” भन्ने शीर्षकमा अन्तर व्यवस्थापिका संघ (आईपीयु) र संयुक्त राष्ट्रसंघ (यूएन)को संयुक्त आयोजनामा भएको सम्मेलनमा बोल्दै सभामुख घिमिरेले वर्तमान विश्व विभिन्न चुनौतीहरूको संघारमा रहेको बताए।

उनले द्वन्द्व, व्यापार तनाव, आर्थिक असमानता, जलवायु संकट, महामारी तथा प्रविधिजन्य परिवर्तनले विश्वलाई थप जटिल बनाइरहेको उल्लेख गर्दै यस्ता संकटबीच अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय संवाद आवश्यक रहेको स्पष्ट पारे।

सभामुख घिमिरेले आजको विश्वले अब सञ्जालीकृत विश्व शासन को अवधारणातर्फ ध्यान दिनुपर्ने धारणा राखे। उनले यस्तो शासन प्रणालीमा सरकारका अतिरिक्त नागरिक समाज, निजी क्षेत्र, शैक्षिक संस्था र सामुदायिक संगठनहरूको समेत सक्रिय सहभागिता आवश्यक हुने बताए।

उनले सहभागी र पारदर्शी संवादलाई प्राथमिकता दिएर मात्रै साझा सहमति र दीगो समाधान खोज्न सकिने बताए।

“आजको विश्व विभिन्न मूल्य, प्राथमिकता र स्वार्थहरूबाट निर्देशित भइरहेको छ। यस्तो परिवेशमा साझा समझदारी निर्माण गर्न गाह्रो भए पनि यसैमा समाधान छ,” सभामुख घिमिरेले भने।

उनले बहुपक्षीय संस्थाहरूको वैधता थप मजबुत बनाउँदै संगठित, शक्तिशाली समूहहरूको प्रभावबाट नीतिगत प्रक्रिया प्रभावित नहोस् भन्नेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com