काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्न लागेको “पावर समिट २०२५” को मिति परिवर्तन गरिएको छ ।
इप्पानले यसअघि २०८२ सालको असोज १ र २ गते सम्मेलन आयोजना गर्ने घोषणा गरेको थियो । तर सोही मितिमा प्रधानमन्त्रीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पानका पदाधिकारीहरूको समेत सहभागिता रहने भएकाले सम्मेलन सार्ने निर्णय गरिएको इप्पानले जनाएको छ ।
संशोधित तालिका अनुसार अब ‘पावर समिट २०२५’ असोज २९ र ३० गते सोल्टी होटलमा आयोजना हुने भएको छ ।
सन् २००६ यता प्रत्येक दुई वर्षको अन्तरालमा निरन्तर हुँदै आएको पावर समिटको यो नवौं संस्करण हुनेछ । सम्मेलनमा स्वदेशी तथा विदेशी ऊर्जा क्षेत्रका विज्ञ, नीति निर्माताहरू र लगानीकर्ताहरूको सहभागिता रहनेछ ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया