काठमाडौं। वर्षायाम सुरु भएसँगै पहाडी जिल्लामा बाढी पहिरोको जोखिम बढेको छ । त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ । जिल्लामा गत वर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकै परिवारका पाँच, मुसिकोटमा पनि एकै परिवारका चार जनाको पहिरोबाट मृत्यु भयो ।

त्यसैगरी विसं २०७६ मा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित भए । उनीहरूको पुनः स्थापनाको काम अझै सकिएको छैन । २०६४ सालमै मुसिकोटमा छ जनाको पहिरोमा परी मृत्यु भयो । यस वर्ष पनि यहाँका नागरिक बाढी पहिरोको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा यस वर्ष २२ हजार ४०० नागरिक बाढी पहिरोको जोखिममा छन् । सबैभन्दा धेरै मुसिकोट नगरपालिकाका १० स्थानमा बाढी र १६ स्थानमा पहिरो गरी कूल २६ स्थानका नागरिक जोखिममा छन् । मुसिकोटको समुद्र, कालीरहलगायतका स्थान बडिगाढ नदीको बाढीको जोखिम छ ।

advertisement

त्यसैगरी सिम्ले, तोलादी, दजाकोटलगायतका स्थान पहिरोको उच्च जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । रेसङ्गा नगरपालिका–३, ६, १० र १४, सत्यवतीको ठूलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा, अश्लेवा, मदानेको अग्लुङ, निपाने, रघवाफेदी, पैयापाटा, बाँझकटेरी, म्यालपोखरी, पुर्कोटदह, धुर्कोटको नयाँगाउँ, गोपे, रातामाटा, अजिमिरकोट लगायतका स्थान पहिरोको उच्च जोखिममा छन् ।

त्यसैगरी छत्रकोटको कोटाग्दी, टुनिखर्क, चुरचुरे, बुटिल, मथुरे, हर्दिनेटा, रुरुक्षेत्रको रिमुवा, रिडी बजार, कालीगण्डकीको पूर्तिघाट, इस्माको अगारे, कँडेनी, हस्तिचौरलगायतका स्थान पहिरोको उच्च जोखिममा छन् ।

विपद्को पूर्व तयारीका लागि जिल्लामा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । पहिरो गइसकेपछि प्रभावित नागरिकलाई नजिकैको विद्यालय वा खाली चउरमा सार्ने लगायतका तयारी गरिएको गैरेले जानकारी दिए ।

 

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com