काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा दृढताका साथ अघि बढिरहेको बताएका छन्। सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्न सरकार क्रियाशील रहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले नेपाललाई सभ्य, समृद्ध र विकसित राष्ट्र बनाउने लक्ष्यका साथ अघि बढिरहेको बताए। “नेपाल अहिले सुशासन र विकासको अभियानमा छ,” उनले भने, “हामी समृद्धि हासिल गरेर एक सभ्य, समृद्ध र विकसित राष्ट्र निर्माण गर्न चाहन्छौं।”
उनले नेपाली जनताको साझा गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली रहेको स्पष्ट पार्दै त्यस लक्ष्य प्राप्तिका लागि सरकार प्रतिबद्ध रहेको जनाए। “हामी सबै नेपालीको साझा आकाङ्क्षा हो — समृद्ध नेपाल, सुखी नेपाली,” उनले भने, “त्यसलाई साकार पार्ने दिशामा हामी क्रियाशील छौं।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले सैनिक कल्याणकारी कोषको योगदानको पनि प्रशंसा गरे। उनले कोषले नेपाली सेना तथा भूतपूर्व सैनिकहरूलाई एकताबद्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताए।
त्यसै सन्दर्भमा उनले कोषको आम्दानीको श्रोत घट्दै गएकोप्रति चिन्ता पनि व्यक्त गरे। कोषलाई थप सबल र आत्मनिर्भर बनाउने उपायहरूमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया