चितवन । चितवन जिल्लामा लामो समयदेखि रहँदै आएको विद्युत् आपूर्ति समस्या अब पूर्ण रूपमा समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार भरतपुर महानगरपालिका–१३ देवनगरबाट सिधै जगतपुरसम्म ११ केभी क्षमताको नयाँ फिडरमार्फत विद्युत् आपूर्ति सुरु गरिएपछि चनौली वितरण केन्द्रमा पर्ने लोड उल्लेखनीय रूपमा घटेको छ। यसअघि भरतपुरबाट चनौली ३३ केभीको प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको थियो, जसले माग धान्न नसक्दा बारम्बार समस्या सिर्जना भएको थियो।

advertisement

बुधबारदेखि देवनगरमार्फत जगतपुर, शुक्रनगर र माडी क्षेत्रमा नयाँ फिडरबाट आपूर्ति सुरु भएपछि चनौलीको भार कम भएको बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख इन्जिनियर जितेन्द्रकुमार झाले जानकारी दिए। ‘अब चितवनको विद्युत् समस्या पूर्णतः समाधान भएको छ,’ उनले भने, ‘हामी अब ओभरलोडबाट अन्डरलोडमा गएका छौं, उपभोक्ताले ढुक्क भएर आवश्यकताअनुसार विद्युत् प्रयोग गर्न सक्नेछन्।’

यसअघि चनौली वितरण केन्द्रले साउन १० गते साँझ विद्युत् आपूर्ति कटौतीको सूचना जारी गरेपछि लोडसेडिङ भएको भन्दै तीव्र आलोचना भएको थियो। त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य साउन १२ गते स्वयं चितवन पुगेका थिए र तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए।

पूर्वी चितवनका टाँडी र चैनपुर वितरण केन्द्रमा पनि बारम्बार लाइन जान थालेपछि, हाल राप्तीको हर्दी सबस्टेशनमार्फत आपूर्ति सुरु गरिएको छ। हर्दीमा हालै जडान गरिएको २४ एमभीएको ट्रान्सफर्मर सक्रिय बनाइएपछि गुणस्तरीय विद्युत् आपूर्ति हुन थालेको हर्दी सबस्टेशन इञ्चार्ज रोशन खनियाँले जानकारी दिए। उनका अनुसार सोमबार रातिदेखि नै टाँडी, पर्सा तथा टिकौली जंगल क्षेत्रसम्म हर्दीबाट विद्युत् प्रवाह सुरु भइसकेको छ।

टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्रप्रसाद चौधरीले पनि स्थानीय तहमा देखिएको विद्युत् समस्या समाधान भएको पुष्टि गरे। हालैसम्म बोरिङबाट पानी तान्दा हुने अधिक लोड, खडेरी र अत्यधिक तापक्रमका कारण विद्युत् लाइन पटक–पटक अवरुद्ध भएको थियो। यसले स्थानीय किसानहरूलाई सिँचाइमा ठूलो समस्या पारेको थियो र उनीहरूले वितरण केन्द्र घेराउसमेत गरेका थिए।

तर अब ती सबै समस्या समाधान भइसकेको डिभिजन प्रमुख झाको दाबी छ। ‘अब पोल ढल्ने वा कुनै प्राविधिक अवरोध बाहेक ओभरलोडका कारण लाइन जाने सम्भावना छैन,’ उनले भने, ‘चितवनमा विद्युत् आपूर्तिको शतप्रतिशत समस्या समाधान भएको छ।’

प्राधिकरणका अनुसार देवनगर–जगतपुर लाइनको भौतिक संरचना पनि मजबुत बनाइएको छ, जसले आगामी दिनमा झनै भरपर्दो सेवा सुनिश्चित गर्नेछ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com