काठमाडाैं । धनुषा जिल्लामा एक किशोरीको हत्या अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति रामबाबु साहलाई मधेस प्रदेश प्रहरीको टोलीले बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका-१६ महेन्द्रनगरस्थित इच्छापुर टोलबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार साह एक घरमा लुकेर बसेको सुराकीका आधारमा छापा मारेर पक्राउ गरिएको हो। उनलाई हाल जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर विस्तृत अनुसन्धान भइरहेको छ।
गत मंगलबार साहले आशा यादवसँग भएको विवादका क्रममा खुकुरी प्रहार गरेका थिए। उक्त घटनामा आशाकी १४ वर्षीया छोरी अञ्जली यादवको घटनास्थलमै मृत्यु भएको थियो। त्यस हमलामा ३६ वर्षीया आशा यादव र उनकी भतिजी राधा यादव घाइते भएका थिए ।
प्रहरी अनुसन्धानले साह यसअघि पनि आफ्नै श्रीमतीको हत्या आरोपमा जेल बसेर छुटेको पृष्ठभूमि रहेको खुलाएको छ। घटनाको गम्भीरताका कारण अनुसन्धानलाई प्राथमिकता दिइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया