काठमाडौं ।  राप्रपा नेत्री खुस्बु ओलीले प्रधानमन्त्रीको ‘खीर खाने पर्व’ को शुभकामनालाई विडम्बनात्मक भन्दै मधेसमा बिपन्न किसानहरूको पीडा प्रति सरकार गम्भीर बन्न आग्रह गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ का अवसरमा देशवासीलाई ‘खीरजस्तो मिठासपूर्ण जीवन’को शुभकामना दिएपछि ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनिन्, “मधेसमा अझै रोपाइँ हुन बाँकी छ र अधिकांश खेत बाँझै छन्। यस्तो अवस्थामा खीरको पर्व मनाउने आधार नै छैन।”

advertisement

उनले वर्षाअभाव र सिँचाइ संकटका कारण चिरा परेका खेत तथा खडेरीको समस्या झेलिरहेका किसानहरूको अवस्था प्रति सरकारको ध्यानाकर्षण गराउँदै, प्रधानमन्त्रीलाई ‘हवाईजहाजबाट सुक्खा हेर्ने होइन, जमिनमै ओर्लेर action मा जाने समय हो’ भन्दै तीव्र कार्यान्वयनको माग गरिन्।

ओलीले सरकारको ५०० वटा डिप बोरिङ निर्माणको घोषणा स्वागतयोग्य भए पनि, प्रशासनिक जटिलता तथा ढिलासुस्तीकै कारण त्यो योजना कहिले कार्यान्वयन हुन्छ भन्ने विषयमा शंका व्यक्त गरिन्। उनले लेखिन्, “ती ५०० वटा डिप बोरिङ अर्को साउन १५ आउँदा बन्ने हो कि अर्को चुनाव आउँदा?”

तीन तहका सरकारबीच समन्वयको अभाव, राजनीतिक भागबण्डा र शक्तिशाली नेताको खेतमा मात्र योजना केन्द्रित हुने सम्भावना समेत औँल्याउँदै उनले भनिन्, “अब प्रक्रिया होइन, संकटकालीन कार्यान्वयनको समय हो।”

ओलीले सरकारलाई खडेरीलाई संवेदनशील संकट मानेर ‘डायरेक्ट टास्क फोर्स’मार्फत तत्काल बोरिङ सुरु गर्न र तोकादेशका आधारमा काम अघि बढाउन आग्रह गरिन्। “नत्र खीर होइन, आक्रोश उम्लन्छ,” उनले चेतावनी दिइन्।

 

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com