काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नागरिकलाई आधारभूत सेवा प्राप्त गर्न नेताकोमा धाउनु पर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्।
बिहीबार बसेको संघीय संसदअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै श्रेष्ठले खानेपानीजस्तो अत्यावश्यक विषयका लागि नेताहरूको घरदैलो गर्नुपर्ने अवस्थालाई अस्वीकार्य बताए।
‘खानेपानीको लागि नेताकोमा धाउनुपर्ने अवस्था छ,’ श्रेष्ठले भने, ‘तर अहिले पठाइएको बजेटले २०/२५ वर्षमा पनि योजना पूरा हुँदैन। यस्तो दुर्व्यवस्था अन्त्य गर्नुपर्छ।’
उनले खानेपानीलाई केवल मौलिक अधिकारको रूपमा नभई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिनुपर्नेमा जोड दिए। मधेसलगायतका धेरै स्थानमा आम रूपमा खानेपानी अभाव रहेको उल्लेख गर्दै उनले ती क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
श्रेष्ठले तीन तहका सरकारबीच समन्वयको अभाव र स्पष्ट कार्ययोजना नहुनु नै हालको समस्या मूल कारण भएको बताए। “काम गर्न सकिन्छ तर त्यसको लागि संघीयता वा तीन तहको संरचना देखाएर पन्छिने प्रवृत्ति हटाउनुपर्छ,” उनले भने।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया