काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता नेपालमा आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुनेछ।
आईसीसीका अनुसार प्रतियोगितामा १० राष्ट्र सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार टोलीले इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपका लागि छनोट हुनेछन्। आयोजकका रूपमा यो नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ।
बंगलादेश र आयरल्याण्ड सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागी भएकाले ग्लोबल छनोटका लागि स्वतः छनोट भएका छन्। एशिया क्षेत्रबाट नेपाल र थाइल्याण्ड, अमेरिका क्षेत्रबाट अमेरिका छनोट भइसकेका छन्। अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जसको टुंगो क्षेत्रीय छनोटपछि लाग्नेछ।
ग्लोबल छनोटमा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिनेछ। प्रतियोगिता समूह चरण, सुपर सिक्स चरण र अन्तिम फाइनल खेलमार्फत सम्पन्न हुनेछ। प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गरिने जनाइएको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया