काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशावादी सोच, आत्मविश्वास र नवप्रवर्तनशील प्रयासले मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा बोल्दै उनले युवा उद्यमीहरूलाई निरन्तर हिम्मतका साथ अघि बढ्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले भने, “भविष्यप्रतिको भरोसा र आशावादी दृष्टिकोणले मात्रै हामीलाई विकसित राष्ट्रतर्फ लैजान सक्छ। जबसम्म हामी आफैँ लाग्दैनौं, हाम्रो देश अरूले आएर बनाइदिँदैन।”
उनले नेपाल सन् २०२६ भित्रमा स्तरोन्नत विकासशील राष्ट्र बन्ने लक्ष्यतर्फ अघि बढिरहेको उल्लेख गर्दै भने, “त्यसपछि हामी पूर्णरूपमा विकसित राष्ट्रतर्फ अघि बढ्नेछौं। हामी सबै एकजुट भएर लाग्यौं भने ‘वी क्यान डु’ भन्ने आत्मबलका साथ नेपाललाई रूपान्तरण गर्न सक्छौं।”
उनले प्रविधिको अधिकतम उपयोग, उत्पादन वृद्धि र आधुनिकीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने धारणा व्यक्त गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली स्टार्टअप उद्यमीहरूले उत्पादन गरेका विविध सामग्रीहरूको अवलोकनसमेत गरेका थिए।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया