काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको नाममा भइरहेको राष्ट्रिय भेला नै गैरकानुनी भएको बताउँदै आफूलाई उक्त भेलाले अध्यक्ष पदबाट हटाउन नसक्ने स्पष्ट पारेकी छिन्।
श्रेष्ठले पार्टी विधान विपरीत संसदीय दलले केन्द्रीय कमिटी र राष्ट्रिय भेला बोलाएको भन्दै त्यसको कुनै वैधानिक आधार नरहेको दाबी गरिन्। उनले भनिन्, “संसदीय दलले केन्द्रीय कमिटीको बैठक बोलाउँछ? अहिले त राष्ट्रिय भेला पनि बसिरहेको रे! यस्तो पनि अचम्म!”
श्रेष्ठले पार्टीको विधानको धारा १९ मा अध्यक्षलाई तोकिएका १४ विशेष अधिकार उल्लेख रहेको स्मरण गराउँदै भनिन्, “राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्र हुन्छ। म या मैले तोकेको कार्यवाहक अध्यक्षले नभइकन बस्ने भेला कानुनतः अमान्य हुन्छ।”
श्रेष्ठका अनुसार निर्वाचन आयोगमा आफूलाई अध्यक्ष पदबाट हटाएको जानकारी पठाइएको भन्ने हल्ला चलाइए पनि त्यो वास्तविक नभएको बताएकी छिन्। “मैले आफैँ निर्वाचन आयोगमा फोन गरेर सोधेँ। उहाँहरूले पत्र आएको छैन भन्नुभयो। उल्टै ठट्टा गर्दै लोकसेवा आयोगतिर गएको होला भन्नुभयो,” उनले भनिन्।
यद्यपि, पार्टीले पोखराको लिचीबारी जग्गा प्रकरणमा श्रेष्ठलाई अनुशासन उल्लंघनको आरोप लगाउँदै २४ घण्टे स्पष्टीकरण सोधेको थियो। सो समयसीमा भित्र जवाफ नआएको भन्दै अनुशासन आयोगका अध्यक्ष तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराको अध्यक्षतामा बसेको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउने निर्णय लिएको जनाएको छ।
रञ्जिता श्रेष्ठले स्वास्थ्य कारण देखाउँदै केही दिनअघि शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको बताएकी थिइन्। उनले भनिन्, “विधानमा अध्यक्षले तीनजना वरिष्ठ नेता तोक्न सक्ने उल्लेख छ। त्यसैअनुसार एक वर्षअघि नै मैले शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको थिएँ।”
हाल राजधानीको मध्यबानेश्वरस्थित सनराइज क्याफेमा जारी राष्ट्रिय भेलाले नयाँ अध्यक्ष चयनको तयारी गरिरहेको छ। सम्भावित नयाँ अध्यक्षका रूपमा संसदीय दल नेतृ गंगा चौधरी, अनुशासन आयोग अध्यक्ष रामलाल डगौरा र सांसद लालवीर चौधरीको नाम चर्चामा रहेको स्रोतले जनाएको छ।
बुधबारको भेलाले नाउपाको २०१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा दर्ता गराउने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया