काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दशरथ रंगशालामा आयोजित विशेष समारोहमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। विद्यालय तहबाटै बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले यो कार्यक्रम राष्ट्रव्यापी रूपमा सुरु गरिएको हो।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलकुद शिक्षा प्रणालीको अनिवार्य हिस्सा हुनुपर्नेमा जोड दिए। “खेलकुदले बालबालिकाको स्वास्थ्य मात्रै होइन, उनीहरूको अनुशासन, नेतृत्व क्षमता र सामाजिक मूल्य विकासमा पनि सकारात्मक भूमिका खेल्छ,” उनले भने।
सरकार दीर्घकालीन रूपमा यस्ता कार्यक्रम विस्तार गर्न प्रतिबद्ध रहेको बताउँदै उनले शैक्षिक संस्थाहरूमा खेलकुदको पहुँच बढाउन आवश्यक रहेको धारणा राखे।
कार्यक्रम अखिल नेपाल फुटबल संघ (एन्फा) को संयोजनमा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालन हुनेछ। प्रारम्भिक चरणमा देशभरका ७७ जिल्लाका १,०७२ विद्यालयमा ३२,६४० वटा फुटबल वितरण गरिएको एन्फाले जनाएको छ।
यस परियोजनाअन्तर्गत विद्यालयका शिक्षक र प्रशिक्षकहरूलाई विशेष तालिम दिइनेछ भने फुटबललाई शिक्षणको एक प्रभावकारी माध्यम बनाउँदै विद्यार्थीहरूलाई सहकार्य, अनुशासन र नेतृत्वजस्ता जीवन उपयोगी सीपहरू सिकाइने लक्ष्य लिइएको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया