काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको विधानविपरीत आयोजित राष्ट्रिय भेलाको कुनै मान्यता नहुने स्पष्ट पारेकी छन्। बिहीबार सिंहदरबारस्थित कृषि तथा भूमि व्यवस्था समितिको बैठकमा सहभागी भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राष्ट्रिय भेला बोलाउने अधिकार केवल अध्यक्षलाई हुने भन्दै सो भेला अवैधानिक रहेको बताइन्।
“पार्टी विधानअनुसार म आफैंले कुनै बैठक आह्वान गरेको छैन,” अध्यक्ष श्रेष्ठले भनिन्, “तसर्थ, सो भेला र त्यसबाट गरिएका निर्णयहरू विधिसम्मत छैनन्।”
श्रेष्ठले आफू अझै अध्यक्षको हैसियतमा कायमै रहेको दाबी गर्दै पार्टीको कुनै विवादबारे जानकारी नभएको पनि बताइन्। “म निरन्तर काममा छु, पार्टीका गतिविधिबारे म नै जानकार छु,” उनले भनिन्।
उनको भनाइले हालै सार्वजनिक भएका पार्टीको विभाजनसम्बन्धी चर्चामा अन्यथा संकेत गरेको छ। अध्यक्ष श्रेष्ठको यो अभिव्यक्तिसँगै नाउपाभित्रको नेतृत्व विवाद थप चर्किने अनुमान गरिएको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया