काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीले साउन १५ का दिन उत्सवपूर्वक खीर खान सक्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन्।
नेकपा (एमाले) केन्द्रीय साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने विशेष कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खीर दिवसलाई सांस्कृतिक उत्सवको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
उनले भने, “साउन १५ नेपालीका लागि विशेष दिन हो। सबैले यो दिन खुसी साथ खीर खान सकून् भन्ने वातावरण राज्यले सुनिश्चित गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले यस वर्ष तराई-मधेस क्षेत्रमा परेको सुख्खाका कारण कृषिमा असर परेको बताए। उनले त्यस क्षेत्रको सिँचाइ सुधारका लागि सरकार गम्भीरताका साथ जुटेको जानकारी दिए।
“सनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरजस्ता सिँचाइ आयोजनाहरूको निर्माण कार्य तीव्र पार्न निर्देशन दिइएको छ,” उनले भने।
प्रधानमन्त्री ओलीले संस्कृति, परम्परा र सामाजिक सद्भावलाई जोगाउँदै विकास, समृद्धि र आत्मनिर्भरताको यात्रामा अघि बढ्न सबै पक्षलाई आग्रह गरे।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया