काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको सांगठनिक संरचना सुदृढ गर्दै स्थानीय तह र जिल्ला अधिवेशन तयारीलाई तीव्रता दिएको छ। यसक्रममा पार्टीले देशभरका अधिवेशन प्रक्रियालाई समन्वय र निगरानी गर्न केन्द्रीय पर्यवेक्षकहरू तोकेको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, केन्द्रीय कार्यसम्पादन समिति र पार्टी विधानअनुसार प्रत्येक जिल्लामा जिम्मेवारीसाथ पर्यवेक्षक खटाइएका छन्। ती पर्यवेक्षकहरूले सम्बन्धित जिल्ला र स्थानीय तहका कार्यसमितिहरूसँग मिलेर अधिवेशनको वातावरण बनाउनुपर्नेछ।
काठमाडौं जिल्लामा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, भक्तपुरमा उपाध्यक्ष रोशन कार्की, ललितपुरमा प्रकाश रिमाल र उद्धवराज भेटवाललाई पर्यवेक्षकको रूपमा पठाइएको छ।
“केन्द्रीय टोलीको समन्वयमा राप्रपा अब अधिवेशनको दिशामा दृढताका साथ अघि बढेको छ,” प्रवक्ता श्रेष्ठले बताए।
राप्रपाले अन्तिम महाधिवेशन २०७८ सालको मंसिरमा सम्पन्न गरेको थियो। यसपटकको अधिवेशन प्रक्रियालाई संगठन विस्तार र आन्तरिक सुदृढीकरणका लागि महत्वपूर्ण चरणको रूपमा लिइएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया