काठमाडौं । आम नागरिकको आवाज सुन्ने र उनीहरूसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘खुल्ला आँगन’ कार्यक्रम सुरु गर्ने भएको छ। यो साप्ताहिक कार्यक्रम आगामी साउन १६ गते शुक्रबारदेखि सुरु हुँदैछ।

पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार, प्रत्येक हप्ता शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ६:३० बजेसम्म रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा यो कार्यक्रम नियमित रूपमा आयोजना गरिनेछ।

advertisement

झाका अनुसार, ‘खुल्ला आँगन’ को मूल उद्देश्य जनतामाझ पुगेर उनीहरूका गुनासा, सुझाव र जिज्ञासा सुन्नु, उत्तरदायी बन्नु र सहभागी लोकतन्त्रको अभ्यासलाई अझ बलियो बनाउनु हो। कार्यक्रम सबैका लागि खुला रहनेछ र कुनै निश्चित एजेन्डा तय नहुने भएकाले सहभागीहरूले स्वतन्त्र रूपमा आफ्ना कुरा राख्न सक्नेछन्।

पार्टीका शीर्ष नेतादेखि सांसद, केन्द्रीय सदस्य र सम्बन्धित विषयका विज्ञहरू कार्यक्रममा सहभागी हुनेछन्। साथै, यो कार्यक्रम फेसबुक, युट्युबजस्ता डिजिटल माध्यममार्फत प्रत्यक्ष प्रसारण पनि गरिने छ, जसले देशभरका नागरिकलाई सहभागिताको अवसर प्रदान गर्नेछ।

रास्वपाले ‘खुल्ला आँगन’ लाई केवल संवादको माध्यम मात्र नभई, आम नागरिकको आवाजमा आधारित जवाफदेहिता र सहभागिताको नयाँ राजनीतिक संस्कृति निर्माणको सुरुवातको रूपमा लिएको स्पष्ट पारेको छ।

यस कार्यक्रममार्फत रास्वपाले नेपाली राजनीतिको पारम्परिक ढर्राबाट फरक जनमुखी अभ्यासको सुरुवात गर्दै लोकतान्त्रिक अभ्यासलाई जीवन्त राख्ने अपेक्षा लिएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com