काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन २५ भित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
शैक्षिक क्यालेन्डरअनुसार नतिजा साउन १५ भित्रै प्रकाशित गर्नुपर्ने भए पनि, शिक्षक आन्दोलनका कारण करिब १० दिन ढिलाइ हुन लागेको बोर्डले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार, परीक्षा निर्धारित मितिमा हुन नसकेका कारण मूल्यांकन तथा नतिजा तयारीको काम ढिला भएको हो।
उनले भने, “प्राविधिक तयारी तीव्र गतिमा भइरहेको छ। हाल काम अन्तिम चरणमा पुगेको छ। साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं।”
यस वर्षको परीक्षा गत ११ वैशाखमा सुरु हुने तय भए पनि शिक्षकहरूको आन्दोलनका कारण परीक्षा २१ वैशाखदेखि मात्र सञ्चालन हुन सकेको थियो।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघले चैत २० गतेदेखि २९ दिनसम्म देशभर आन्दोलन गरेको थियो, जसका कारण परीक्षा तालिका प्रभावित भएको थियो।
यस वर्ष देशभरिबाट कूल ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी कक्षा १२ को परीक्षा सहभागी भएका थिए। बोर्डले सम्भव भएसम्म समयमै नतिजा प्रकाशित गर्न आवश्यक तयारी गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया