काठमाडौं । राजधानीका ठमेल र महाराजगञ्ज क्षेत्रलाई लक्षित गर्दै प्रहरीले बिहीबार राति सञ्चालन गरेको विशेष अपरेसनमा ४७ जना भन्दा बढीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चर्चित गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन पनि छन् ।
प्रहरीको टोलीले मिलनलाई महाराजगञ्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिएको हो । उनी यसअघि पनि २०७४ साल वैशाख २६ गते महाराजगञ्जकै क्षेत्रबाट पक्राउ परेका थिए ।
गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिन उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङ र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीको टोली रातभर खटिएको थियो ।
एआईजी तामाङका अनुसार ठमेल र महाराजगञ्ज क्षेत्रका रेष्टुरेन्ट, दोहोरी साँझ र नाइट क्लबहरूमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । ‘अवाञ्छित गतिविधिमा संलग्न केहीलाई नियन्त्रणमा लिएका छौं, संख्या यकिन गर्ने काम भइरहेको छ,’ उनले भने।
यसै क्रममा, साउन १५ गते बिहान करिब ३ बजे ठमेलस्थित एक दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानु भाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा भएपछि उनी पक्राउ परेका हुन् ।
सानु भाइ नुवाकोटको ककनी गाउँपालिका–५ स्थायी घर भई हाल टोखा नगरपालिका स्थित सूर्यदर्शन हाइटमा बस्दै आएका थिए । उनी प्रहरी इन्काउन्टरमा मारिएका चर्चित गुन्डा कुमार श्रेष्ठ उर्फ ‘घैँटे’का निकट सहयोगी मानिन्छन् ।
रेष्टुरेन्ट तथा नाइट क्लबहरूमा बसेर विवाद सिर्जना गर्ने, हप्ता असुल गर्ने, डरधम्की दिने लगायतका गुनासोहरू बढेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले यो अपरेसन सञ्चालन गरेको हो । पक्राउ परेकाहरूको प्रारम्भिक स्क्रिनिङपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया