काठमाडौं । सांसद छिरिङ ल्हामु लामाले पूर्वराजपरिवारको गतिविधि र त्यसको पछिल्लो युट्युब प्रस्तुतिबारे कडा आपत्ति जनाएकी छन्। उनले जुम्ला क्षेत्रको भ्रमणलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयन्द्र शाह र बुहारी हिमानी शाहमाथि तीव्र आलोचना गरेकी हुन्।
लामाले सामाजिक सञ्जालमार्फत एक सन्देश पोस्ट गर्दै भनिन् कि “राजतन्त्रको इतिहास नेपाली जनतामाथि दोहन र दमनको रहेको” छ। उनले जुम्लामा सन् १८४६ तिर भएको सैन्य आक्रमणलाई उदाहरण दिँदै तत्कालीन राजा रणबहादुर शाह र उनकी आमा राजेन्द्र लक्ष्मी शाहको निर्देशनमा भएको क्रूर आक्रमणलाई स्मरण गराएकी छन्।
“त्यही इतिहासको झल्को अहिले फेरि हृदयन्द्र शाहको उपस्थितिसँग देखिएको छ,” लामाले लेखिन्। उनका अनुसार हिमानी शाहले छोरालाई लिएर युट्युबको माध्यमबाट प्रचारको ‘स्टन्ट’ गरी जुम्लामा पुनः एकपटक “सामन्ती षड्यन्त्रको” प्रयास गरिएको छ।
लामाले प्रश्न गरेकी छन् कि “एक साधारण युट्युब भिडिओले पूर्वराजाका पुस्ताले जनतामाथि गरेको शोषण र अत्याचारको हिसाब चुक्ता गर्न सक्दैन।” उनका अनुसार २३८ वर्ष लामो राजतन्त्रले जुम्लामा आधारभूत स्वास्थ्य सेवा पनि पुर्याउन नसकेको भए पनि गणतन्त्रले १५ वर्षमा बाटो, इन्टरनेट र स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
उनी भन्छिन्, “जुम्लालाई ऐतिहासिक रूपमा केन्द्रले उपेक्षा गरेको थियो, र त्यस्तो अवस्था ल्याउने प्रमुख जिम्मेवार राजतान्त्रिक व्यवस्था थियो।” लामाले जुम्लाको पहिचान र सभ्यतालाई हृदयन्द्र शाहको भिडियोबाट होइन, स्थानीय ब्लगर तथा अभियन्ताहरूको कामबाट चिनिनुपर्ने बताएकी छन्। उनले सिर्जना सिज्जुजस्ता ब्लगरहरूको उदाहरण दिँदै भनेकी छन् कि, “राजपरिवारको सदस्य नहुनुका कारण यस्ता प्रयासहरू ओझेलमा पर्ने अवस्था आफैमा सामन्ती सोचको निरन्तरता हो।”
सामाजिक सञ्जाल, मिडिया र युट्युबमा देखिने पूर्वराजपरिवारको प्रभावप्रति पनि लामुले चिन्ता व्यक्त गरेकी छन्। उनी लेख्छिन्, “हिजोको सामन्ती सम्पत्ति अहिले युट्युब च्यानलहरू र सामाजिक अभियन्तामा लगानी हुँदै गएको चर्चा हुन थालेको छ,” र यस्तो प्रवृत्तिले गणतन्त्रप्रतिको चुनौतीलाई बल पुर्याएको उल्लेख गरिन्छ।
सन्देशको अन्त्यमा लामाले लेखेकी छन्, “सिंहदरबार अब बंशको नामले होइन, जनताको विश्वासले पुगिन्छ।” उनले नेपालको गणतन्त्रप्रणालीको रक्षा र सामन्ती चिन्तनको विरोधमा नागरिक सचेतना बढाउन आह्वान गरेकी छन्।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया