काठमाडौं । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनसँग सम्बन्धित मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाले दिएको थुनछेक निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
गत वर्ष चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा भएको घरमा आगजनी, सरकारी गाडीमा तोडफोडलगायतका गतिविधिको नेतृत्व गरेको अभियोगमा प्रसाईँलाई राज्यविरुद्धको कसुर र ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनीहरू उच्च अदालत पुगेका हुन्।
उनीहरूले जिल्ला अदालत काठमाडौँको जेठ २९ गतेको आदेशविरुद्ध असार ६ गते उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए। सो आदेश न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट जारी भएको थियो, जसअनुसार दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षमा राख्न आदेश दिइएको थियो।
थुनछेक निवेदनमाथिको सुनुवाइ बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा सुरु भएको थियो। तर, सुनुवाइ नसकिएकाले मुद्दा ‘हेर्दा हेर्दैमा’ राखी शुक्रबारका लागि पेशी तय गरिएको हो।
थुनछेक निवेदन दिनेहरूमा प्रसाईँसँगै सुशील बराल, डण्डपाणि रेग्मी र तारा राजावादी भनिने सरोज गौतम छन्।
अब उच्च अदालतले यस मुद्दामा के निर्णय गर्छ भन्नेमा सार्वजनिक चासो केन्द्रित हुँदै गएको छ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया