विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताको कुनै औपचारिक छलफल नभएको स्पष्ट पारेका छन्।

शुक्रबार सुनसरीमा पार्टी कार्यक्रममा सहभागी हुन आउँदै गर्दा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “अहिले पार्टी एकीकरणको कुरा उठेकै छैन, सहकार्यका विषयमा भने संवाद भइरहेको छ।”

advertisement

नेपालले समाजवादी मोर्चालाई निरन्तरता दिने र आपसी विश्वासको आधारमा दुई पार्टीबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल चलिरहेको जानकारी दिए।

तर, यता समाजवादी मोर्चाका संयोजक तथा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मोर्चा विघटनको प्रस्ताव गरिसकेको अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष नेपालले मोर्चा जोगाउनुपर्ने धारणा व्यक्त गर्दै आएका छन्।

हालै माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकतासम्बन्धी गम्भीर वार्ताहरू भइरहेको चर्चा व्यापक रूपमा चलिरहेको भए पनि अध्यक्ष नेपालले त्यसलाई स्पष्ट रूपमा अस्वीकार गरेका हुन्।

उता, पार्टीभित्रै माओवादीसँग एकता गर्न नहुने धारणा बलियो बनेको छ। वरिष्ठ नेता झलनाथ खनालले माओवादीमा जान चाहनेहरू स्वतः जान सक्ने भन्दै कडा अभिव्यक्ति दिएका छन्।

यसै सन्दर्भमा अध्यक्ष नेपालले सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै “एकता होइन, सहकार्य” को धारणा दोहोर्‍याए।

पूर्व सहयात्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आलोचनात्मक हुँदै नेपालले भने, “ओलीको दम्भ र अहंकारकै कारण नेपाली कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा परेको छ।”

उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको आरोप लगाउँदै थपे, “केपी ओलीको दम्भ, घमण्ड, गलत नीति र कामको परिणाम स्वरूप सिङ्गो देश पीडामा छ। जबसम्म ओली राजनीतिबाट विदा हुँदैनन्, देश यो पीडाबाट मुक्त हुनेवाला छैन।”

अन्त्यमा, अध्यक्ष नेपालले आफूमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com