काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरोगी राष्ट्र बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। शुक्रबार बागमती प्रदेशलाई पूर्ण खोप क्षेत्र घोषणा गर्ने कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालका प्राकृतिक विशेषताहरू—शुद्ध हावापानी र वातावरण—ले पनि निरोगी राष्ट्र निर्माणमा टेवा पुर्याउने उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भने, “नेपाल निरोगी बन्न सक्छ। हामी सबैको प्रयास र समर्पणले यो सम्भव छ। कसैलाई रोग नलागोस्, सबै नेपाली निरोगी रहून् भन्ने हाम्रो चाहना हो।”
उनले बागमती प्रदेशलाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्न सफल हुनु एक व्यक्तिको प्रयास मात्र नभई लामो समयदेखि सरकार, स्वास्थ्यकर्मी, स्थानीय तह, जनप्रतिनिधि र आम नागरिकको सामूहिक प्रयासको परिणाम भएको बताए।
“यो काम एकछिनको हैन, लामो संघर्ष र समर्पणको उपज हो,” प्रधानमन्त्री ओलीले भने, “हामी अहिले समृद्ध नेपाल, सुखी नेपालीको यात्रामा छौँ। यसको एउटा मूल आधार हो—जनताको स्वास्थ्य, स्वच्छता र सुशासन।”
प्रधानमन्त्री ओलीले स्वस्थ समाज निर्माणलाई सरकारको प्रमुख गन्तव्यका रूपमा व्याख्या गर्दै भने, “नेपाललाई निरोगी राष्ट्र बनाउने उद्देश्य राखिएको छ। योभन्दा ठूलो गन्तव्य के हुन सक्छ र?”
उनले केही स्थान विशेषको आधारमा समग्र देशको मूल्याङ्कन नगर्न आग्रह गर्दै भने, “हनुमन्ते खोलाजस्तो कुनै फोहोर ठाउँलाई देखाएर सारा नेपाल फोहोर छ भन्न सकिँदैन। हामीसँग फोहोर व्यवस्थापन गर्ने क्षमता छ, र अहिले पनि बागमती सफाइ अभियान महिनैपिच्छे, हप्तैपिच्छे भइरहेको छ।”
कार्यक्रमको अन्त्यमा प्रधानमन्त्रीले सबै नेपालीलाई स्वस्थ, सुरक्षित र समृद्ध जीवन प्रदान गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया