काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमाले पार्टीमा गरिएको विद्रोह गलत निर्णय भएको स्वीकार गरेका छन्।  खनालले अब आफू त्यस समयको निर्णयप्रति पुनर्विचार गर्ने अवस्थामा पुगेको स्पष्ट पारे।

उनले भने, “जुन बेला एमाले पार्टी विभाजन गरियो, त्यो गलत थियो भन्ने बोध अहिले हुँदैछ। त्यसबेलाको विद्रोह पुष्टि हुन सकेन। त्यसैले त्यो निर्णय सही थिएन भन्ने अनुभूति अहिले म गरिरहेको छु।”

advertisement

खनालले एमालेलाई नेपाली कम्युनिस्ट आन्दोलनको सबल र ऐतिहासिक संस्थाको रूपमा स्मरण गरे। “एमाले एउटा संस्था थियो, यो आन्दोलनको मेरुदण्डझैँ बलियो संरचना बनाइएको थियो। त्यसलाई छाड्नु र विद्रोह गर्नु समयानुकूल निर्णय रहेनछ,” उनले प्रष्ट पारे।

देशका सबै वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको धारणा राख्दै उनले भने, “अहिले भेगिएका नेताहरूले पनि एक दिन भन्नेछन्—त्यतिबेला हामीबाट गल्ती भयो। त्यो दिन आउँछ।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कनुलाई खनालले स्वाभाविक भनेका छन्। “उहाँले ‘एमालेको अध्यक्ष बन्नेछु’ भनेर भन्नुभएको हो। यस्तो अवस्था आउँदा स्वाभाविक रूपमा द्वन्द्व महसुस हुन सक्छ। तर राजनीतिमा लागिरहन्छु भन्ने उहाँको अभिव्यक्ति अस्वाभाविक होइन,” खनालले बताए।

खनालले अध्यक्ष माधवकुमार नेपालसँगको सल्लाह–समन्वय कमजोर भएको स्वीकार गर्दै पछिल्लो समय पार्टीको प्रमुख निर्णयहरूमा आफूलाई जानकारी नदिइएको गुनासो गरे।

“कतिपय विषयबारे मलाई जानकारी दिइएको छैन। माओवादीसँग एकता, वामदेव गौतमको आगमनजस्ता विषयमा औपचारिक छलफल भएको छैन,” उनले भने।

खनालले स्पष्ट रूपमा भने, “माओवादी वा एमालेसँग एकताका लागि अहिले कुनै ठोस आधार तयार भएको छैन। त्यसबारे पार्टी भित्रै सम्वाद हुन आवश्यक छ।”

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com