काठमाडौं । झापाको मेचीनगरमा स्कुल भ्यान दुर्घटना हुँदा १९ बालबालिकासहित २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–९, खुट्टिडाँगीस्थित सडकखण्डमा पारिजात पब्लिक स्कुलको भ्यान मे १ ज ३१०७ शुक्रबार बिहान करिब १० बजे आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा भ्यानका चालक ४५ वर्षीय गणेश श्रेष्ठ र शिक्षिका प्रिती सिवासमेत घाइते भएका छन्। चालक श्रेष्ठको टाउकोमा चोट लागेको छ भने शिक्षिकाको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेहरूमध्ये ६ वर्षीया र ४ वर्षीया दुई बालिकाको टाउकोमा चोट लागेको छ, तर अवस्था मध्यम रहेको जनाइएको छ। अन्य बालबालिकाहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पताल र आम्दा अस्पताल, धुलाबारीमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया