काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई राजीनामा दिएर पार्टीबाट अलग हुन सुझाव दिएका छन्।
शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले खनालले पटक–पटक पार्टी नीतिविपरीत धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएको उल्लेख गर्दै भने, “अब उहाँसँग पार्टीमा बस्ने नैतिक आधार बाँकी छैन। तत्काल राजीनामा दिएर विदा हुनुपर्छ।”
उनका अनुसार खनालले पार्टीका संस्थागत निर्णयहरूलाई निरन्तर बेवास्ता गर्दै आएका छन्। “संस्थागत निर्णय उल्लंघन गर्नेमा उहाँ अग्रपंक्तिमा पर्नुहुन्छ। त्यसैले उहाँका भनाइहरूको कुनै राजनीतिक अर्थ रहँदैन,” नेपालले कटाक्ष गरे।
अध्यक्ष नेपालले संविधान तथा कानुनले कसैलाई पार्टी परिवर्तन गर्न रोक नलगाउने स्पष्ट पारे। “व्यक्तिको विचार, निर्णय र स्वतन्त्रतामाथि संविधानले रोक लगाउँदैन भने त्यसलाई अधिकारकै रूपमा लिनुपर्छ,” उनले भने।
पार्टीको वर्तमान प्राथमिकता संगठन विस्तार र सुदृढीकरण रहेको उल्लेख गर्दै नेपालले पार्टीले लोकतान्त्रिक र वामपन्थी शक्तिहरूसँग विचार र एजेन्डा मिलेअनुसार सहकार्य गर्दै जाने नीतिमा अघि बढिरहेको जानकारी दिए।
उनका अनुसार तत्काल पार्टी एकीकरणको सम्भावना भने छैन। “अहिले कुनै दलसँग एकीकरणको कुरा गरिएको छैन। अहिले मोर्चा निर्माण गरी सहकार्य गर्ने पक्षमा छौँ,” अध्यक्ष नेपालको भनाइ थियो।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया