काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माले पार्टीका विषयमा सार्वजनिक रूपमा दिएको अभिव्यक्ति अनुचित भएको बताएका छन्।
शुक्रबार बसेको स्थायी समिति बैठकको सुरुआतमा बोल्दै दाहालले पार्टीको विधि र पद्धति विपरीत सार्वजनिक रूपमा धारणा राख्नु कम्युनिस्ट पार्टीको चरित्रअनुसार नहुने बताए। उनले कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता लागू हुने भन्दै संसदवादी वा बुर्जुवा पार्टीजस्तो सार्वजनिक बोलाइ स्वीकार्य नहुने धारणा व्यक्त गरे।
‘कम्युनिस्ट पार्टीमा सार्वजनिक रूपमा व्यक्तिगत विचार राख्ने छुट हुँदैन,’ बैठकमा सहभागी एक स्थायी समिति सदस्यले दाहालको भनाइ उद्धृत गर्दै भने, ‘जनार्दनजीको सार्वजनिक अभिव्यक्ति उचित थिएन।’
दाहालले आन्तरिक एकता बलियो बनाउन जनवादी केन्द्रीयताको कडाइपूर्वक पालनाको आवश्यकता औंल्याए। साथै, पार्टी नेतृत्वको आलोचना सार्वजनिक रूपमा नभई महाधिवेशनजस्ता औपचारिक थलोमा उठाउनुपर्ने बताए।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया