काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले मधेसमा फैलिएको खडेरी र सुक्खापनको दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन बहुउद्देश्यीय सिँचाइ आयोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरेका छन्।

पार्टीका प्रवक्ता मनिष झासँगै धनुषाको हंसपुर नगरपालिकास्थित सुक्खाग्रस्त खेतहरूको निरीक्षणपछि वाग्लेले भने, “जहाँ लहलह खेतहरूमा धान फल्योस् भन्ने अपेक्षा थियो, आज त्यहाँ बिउ नै सुकिरहेका छन्। लामो समयदेखि वर्षा नहुँदा स्थिति निकै चिन्ताजनक छ।”

advertisement

उपसभापति वाग्लेले मधेसमा तत्काल राहतका लागि ५०० वटा डिप बोरिङ गरिने वा कृत्रिम वर्षा (क्लाउड सिडिङ) गरिने जस्ता अल्पकालीन उपायहरूलाई विचार गरिए पनि स्थायी समाधानका लागि ठूला योजनामा ध्यान केन्द्रित गर्नुपर्ने बताए।

उनका अनुसार सुनकोशी–मरिन आयोजना मधेस मात्र होइन, सम्पूर्ण मुलुकको समृद्धिको निम्ति आधार बन्न सक्छ। “सुनकोशी नदीको पानी सुरुङमार्फत मरिन खोलामा झारेर धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका करिब १ लाख २२ हजार हेक्टर खेतमा सिँचाइ पु¥याउने लक्ष्य यो आयोजनाको मूल उद्देश्य हो,” उनले स्पष्ट पारे।

तर आयोजनाको काम अत्यन्त सुस्त गतिमा भइरहेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। “सुरुङ खन्ने काम त सम्पन्न भयो, तर बाँकी कामहरू अझै धेरै वर्ष लम्बिने देखिन्छ। सरकारले गम्भीरता देखाउनु जरुरी छ,” उनले जोड दिए।

खडेरीको कारणबारे चर्चा गर्दै उनले चुरे क्षेत्रको दोहन, पानी सञ्चय गर्ने परम्परागत उपायहरूको लोप, अव्यवस्थित आधुनिकीकरण र जलवायु परिवर्तनको मिलेजुले असर मधेसमा परेको बताए।

“सिँचाइ प्रणाली विस्तारले मात्र कृषिमा रूपान्तरण सम्भव छ,” भन्दै वाग्लेले भारत र बंगलादेशको हरित क्रान्तिको उदाहरण दिए। उनले भने, “नेपालमा १८ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये अहिले बारहमास सिँचाइ सुविधा पाउने क्षेत्र ३५ प्रतिशतभन्दा कम छ। यो स्थितिमा आमूल सुधार गर्नुपर्छ।”

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com