काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालको संविधानको संरचनाका कारण कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन नसक्ने बताएका छन्।

शुक्रबार पार्टीको थारु विभागद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले वर्तमान संविधान सबै समुदायलाई समेट्ने समावेशी दस्तावेज भए पनि यही संरचनाले बहुमतको सरकार बनाउने वातावरण नबनेको बताए।

advertisement

उनले भने, “हाम्रो संविधान सबै जातजाति, दलित, महिला, जनजाति, आदिवासीलाई समेट्ने खालको छ। यो समावेशी लोकतन्त्रको नमुना हो। तर यसले कुनै एक पार्टीलाई बहुमत ल्याउने अवस्था बनाउँदैन। त्यसैले मिलेर सरकार बनाउनुको विकल्प रहँदैन।”

सभापति देउवाले लोकतान्त्रिक मूल्य, समावेशी प्रणाली र साझा सहमतिमा आधारित सत्ता संयोजन अहिलेको अपरिहार्य आवश्यकता भएको उल्लेख गरे।

उनले पार्टी कार्यकर्तालाई आन्तरिक एकता मजबुत पारेर अघि बढ्न आग्रह गर्दै भने, “यदि हामी कांग्रेसका सम्पूर्ण शक्ति एक ठाउँमा गोलबद्ध भएर लाग्यौं भने बहुमत ल्याउन पनि सक्छौं।”

थारु समुदायप्रति पार्टीको सम्मान र सहभागिता सुनिश्चित गर्ने आफ्नो प्रयासको उल्लेख गर्दै देउवाले लुम्बिनी प्रदेशमा थारु समुदायबाटै मुख्यमन्त्री बनाइएको र पार्टीमा सहमहामन्त्री पद अनिवार्यरूपमा सुनिश्चित गरिएको पनि स्मरण गराए।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com