काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारका लागि खोलिने खातामा अब राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ।
बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकरहरूलाई नयाँ कारोबार खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचयपत्र वा सोको नम्बर अनिवार्य रूपमा संकलन गर्न अनुरोध गरेको हो।
यससँगै अब ग्राहकले KYC (ग्राहक पहिचान) विवरण राष्ट्रिय परिचयपत्रको आधारमा बुझाउनु पर्नेछ। यसअघि नागरिकता प्रमाणपत्रको आधारमा मात्र KYC फारम भरिँदै आएको थियो।
नेप्सेले पहिले नै खाता खोलेर कारोबार व्यवस्थापन प्रणाली (TMS) प्रयोग गरिरहेका ग्राहकहरूलाई समेत राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको छ।
बोर्डका अनुसार नयाँ व्यवस्था ग्राहकको पहिचान थप सशक्त बनाउने उद्देश्यले गरिएको हो। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिसकेका छन्।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया