काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई गम्भीर संकटतर्फ धकेलेको आरोप लगाएका छन्। उनले नेपाली राजनीति व्यापारिक र भ्रष्ट प्रणालीमा रूपान्तरण हुँदै गएको टिप्पणी गरे।
काठमाडौंमा आज आयोजित उपत्यका स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको मार्गचित्र असफल भएको स्पष्ट पारे। उनले भने, “यो प्रणालीले भ्रष्टाचारलाई संस्थागत गरिदिएको छ। लाखौं युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन्। मुलुकका सबै क्षेत्र सीमित नेताहरू र पार्टीहरूको कब्जामा परेका छन्।”
धर्म परिवर्तनको नाममा फैलिएको कट्टरताको कारण धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कमजोर बन्दै गएको पनि उनले औँल्याए। उनका अनुसार देशभित्र तीव्र रूपमा जनअसन्तुष्टि बढ्दै गएको छ र जनता वर्तमान व्यवस्थाबाट निराश र दिक्क भइसकेका छन्।
अध्यक्ष थापाले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास घट्दै गएको उल्लेख गर्दै अब देशले नयाँ वैचारिक र व्यवहारिक विकल्पको खोजी गरिरहेको बताए। उनले भने, “हरेक दिन नयाँ–नयाँ भ्रष्टाचार काण्ड सार्वजनिक भइरहेका छन्। सरकारकै मन्त्रीहरू काण्डमा संलग्न छन्। यस्तो अवस्थामा वर्तमान व्यवस्था जनताको हितमा हुनै सक्दैन।”
उनले संघीयताले भ्रष्टाचारलाई तल्लो तहसम्म फैलाउन मात्र सहयोग पुर्याएको र प्रदेशहरू सत्ताको फोहोरी खेलमा अल्झिएको बताए। “राजनीति जनसेवाको माध्यम होइन, व्यक्तिगत लाभ र सत्ताको सौदाबाजीमा सीमित बन्न पुगेको छ,” उनले थपे।
अध्यक्ष थापाले आउँदो निर्वाचनमा जनता काँग्रेस र कम्युनिस्ट दलप्रति अविश्वास जनाउँदै वैकल्पिक शक्तिको रूपमा राप्रपा नेपाललाई अगाडि ल्याउनुपर्ने आवश्यकता औँल्याए। “जनता अब विकल्प खोज्दै छन्। त्यसैले पार्टीको संगठन विस्तार र मजबुतीकरण हाम्रो प्राथमिक एजेन्डा हुनुपर्छ,” उनले निर्देशन दिए।
थापाले अन्य पार्टीहरू काँग्रेस र कम्युनिस्टहरूको बाटो पछ्याउँदै हिँडेकाले वैकल्पिक शक्ति बन्न नसक्ने दाबी गर्दै, राप्रपा नेपाल मात्र साँचो वैचारिक दृष्टिकोण दिन सक्ने शक्ति भएको उल्लेख गरे।
बैठकले उपत्यकाका विभिन्न क्षेत्रीय तहहरूमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया