काठमाडौं । काठमाडौं उपत्यकाभरि आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीको विशेष अपरेशन जारी छ। काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले आपराधिक समूहहरूलाई निष्क्रिय बनाउन अपरेशन तीव्र पारिएको जानकारी दिएका छन्।
“अब गुण्डागर्दीलाई काठमाडौंमा ठाउँ छैन,” एसएसपी अधिकारीले भने, “गुण्डाहरूको पहिचान भइसकेको छ, उनीहरूलाई क्रमशः खोजी गरी कानुनी कारबाहीमा ल्याइँदैछ ।”
यही अभियान अन्तर्गत शुक्रबार प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित होटल साम्बालामा छापा मार्दै ४७ जनालाई पक्राउ गरेको थियो। तीमध्ये मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ सहित १९ जनाविरुद्ध सार्वजनिक हितविपरीतको कार्य गरेको अभियोगमा मुद्दा दर्ता गरिएकाले उनीहरूलाई सात दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
बाँकी २८ जनालाई भने प्रहरीमा नियमित उपस्थित हुने शर्तमा रिहा गरिएको छ। तर उनीहरूमाथि पनि अनुसन्धान जारी रहेको अधिकारीले बताए। “छाडिएका व्यक्तिहरूमाथि पनि आवश्यक अनुसन्धान भइरहेका छन्,” उनले भने, “१९ जनाविरुद्ध थप उजुरी आउने सम्भावना भएकाले सर्वसाधारणले उजुरी दिन सक्नेछन् ।”
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहकार्यमा सञ्चालन गरिएको यो अपरेशनलाई प्रहरीले निरन्तरता दिने बताएको छ। प्रहरीले उपत्यकामा शान्ति सुरक्षाको अवस्था बलियो बनाउँदै आपराधिक गिरोहमाथि कडाइका साथ कारबाही गर्ने स्पष्ट सन्देश दिएको छ ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया