काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेताहरूसँग सम्वाद गर्दै ‘सबैको अभिभावक’ को भूमिका निर्वाह गर्न सुझाव दिएका छन्।
नेपाली कांग्रेस विराटनगर–४ वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले देशको समसामयिक राजनीतिक जटिलता समाधानका लागि दलहरूबीच संवाद र सहकार्य आवश्यक रहेको बताए।
“शेरबहादुर देउवाजीजति अनुभवी नेता अहिले राजनीति मैदानमा कोही छैन। उहाँले सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासबारे छलफल गर्नुपर्छ,” कोइरालाले भने, “तर उहाँ सत्तागठबन्धन बाहेकका नेताहरूसँग भेट गर्न चाहनुहुन्न भन्ने जस्तो व्यवहार गर्नुहुन्छ। नेता भएपछि सबैसँग भेट्न सक्नुपर्छ।”
युवापुस्तालाई पार्टीप्रति आकर्षित गर्न नसकिए कांग्रेस कमजोर हुने बताउँदै कोइरालाले लोकतन्त्रको स्थायित्वका लागि युवाको सहभागिता अपरिहार्य रहेको उल्लेख गरे। “लोकतन्त्रको पर्यायवाची नै कांग्रेस हो। यदि कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै होइन, देश नै कमजोर हुन्छ,” उनले चेतावनी दिए।
उनले थपे, “कांग्रेस बलियो बनाउन युवा वर्गलाई पार्टीमा जोड्नुपर्छ। लोकतन्त्रको मर्म र मूल्य बुझाउनुपर्छ। अहिलेको पुस्ता जागरुक छ, तिनलाई विश्वस्त बनाउने नेतृत्व शैली आवश्यक छ।”
आन्तरिक प्रतिस्पर्धाका क्रममा विकसित ‘इगो’ ले चुनावमा कांग्रेस आफैंलाई हराउने काम भएको भन्दै कोइरालाले यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। “पार्टी भित्रको प्रतिस्पर्धालाई व्यक्तिगत रिसइवीमा बदल्नाले हामी चुनावमा कमजोर भएका छौँ,” उनले भने, “स्थानीयदेखि संघसम्मका धेरै निर्वाचन क्षेत्र कांग्रेसको प्रभावशाली उपस्थिति हुँदाहुँदै पनि हामी आफैंले भोट नदिएकै कारण हारिरहेका छौं।”
उनले जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भए पनि एमाले तथा अन्य दलहरूसँगको प्रतिस्पर्धामा भने कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए। “पार्टी चुनावमा कसैले मलाई हरायो भनेर त्यसको रिस सच्चा चुनावमा निकाल्ने हो भने त्यो कांग्रेसकै घाटा हो,” कोइरालाले स्पष्ट पारे।
कार्यक्रममा कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफैंले विभिन्न समयमा भेटघाट गरेको उल्लेख गर्दै पार्टी नेतृत्व समावेशी, संवादमुखी र लचिलो हुनुपर्ने धारणा राखे।
उनले पार्टीको सुदृढीकरणका लागि सबै तहका कार्यकर्ताबीच एकता, विश्वास र आपसी सम्मान अपरिहार्य रहेको बताए। “जहाँ कांग्रेस जितेको हुन्थ्यो, त्यहाँ जनताको गुनासो पनि हामीले सम्बोधन गर्न सक्थ्यौं। तर, हारेका ठाउँमा हामी बेवास्ताको सिकार बनिरहेका छौं,” उनले दुःख व्यक्त गरे।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया