विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेताहरूसँग संवाद गर्दै सबैको अभिभावकको भूमिका निर्वाह गर्न सुझाव दिएका छन्।
विराटनगर–४ वडा समितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा बोल्दै नेता कोइरालाले देउवालाई पार्टी सीमाभन्दा माथि उठेर सबै राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्न र देशका समसामयिक मुद्दामा खुला छलफल गर्न आग्रह गरे।
उनले भने, “शेरबहादुर देउवा जस्तै वरिष्ठ नेता अहिले देशको राजनीतिमा कोही छैन। उहाँले सबै दलका नेताहरूलाई घरमै बोलाएर चिया खुवाउँदै देशका जटिल समस्याहरूमा संवाद गर्नुपर्छ। तर अहिले उहाँ सत्ता गठबन्धनबाहेकका नेताहरूसँग भेटघाट गर्न चाहनुहुन्न भन्ने बुझिन्छ, जुन गलत हो। म त आफैं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजी र ओलीजीलाई भेट्दै आएको छु।”
कोइरालाले पार्टीभित्र युवाको सहभागिता अभावले कांग्रेस कमजोर बन्दै गएको भन्दै त्यसको असर लोकतन्त्र र देशको भविष्यमा पर्ने चेतावनी दिए। “कांग्रेस कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ, अनि देश नै अस्थिर बन्छ,” उनले भने, “लोकतन्त्रको पर्याय नै कांग्रेस हो, त्यसैले युवालाई पार्टीमा जोड्नु अत्यावश्यक छ।”
उनले कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक प्रक्रियाको अंग मान्दै भने, “प्रतिस्पर्धा स्वाभाविक हो तर जब कांग्रेसकै नेता कार्यकर्ताले पार्टीलाई हराउन प्रयत्न गर्छन्, तब त्यो संगठनको गम्भीर क्षति हो।”
कोइरालाले निर्वाचनमा कांग्रेस आफैं कमजोर भएको स्वीकार गर्दै पार्टीभित्रको ‘इगो’ले चुनावी हार निम्त्याएको बताए। “वडादेखि संसदीय क्षेत्रमा कांग्रेसका उम्मेदवार बलिया हुँदाहुँदै पनि हारेका छन्। यसको मूल कारण भनेको कांग्रेसले कांग्रेसलाई नै भोट नदिनु हो,” उनले दुखेसो पोखे।
अन्त्यमा उनले सबै तहका चुनावमा कांग्रेस एकढिक्का भएर प्रतिस्पर्धा गर्न सके मात्र लोकतन्त्रको स्थायित्व र देशको समुन्नति सम्भव हुने धारणा राखे। “यदि अन्य पार्टीका उम्मेदवारहरू जिते भने जनताका समस्या कांग्रेसमार्फत सम्बोधन हुन सक्दैन,” उनले जोड दिए।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया