काठमाडौं । कैलालीको बर्दगोरियामा एक १७ वर्षीया किशोरीको चक्कु प्रहारबाट हत्या भएको छ।
बर्दगोरिया गाउँपालिका–३ की याचना सेजवालको शनिबार बिहान बर्दगोरिया–१ स्थित राजधानी सेकुवा एन्ड म:म सेन्टरमा कार्यरत एक युवकद्वारा हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार सेजवाललाई सोही स्थानमा काम गर्ने ३३ वर्षीय नृप साउदले बिहान करिब १० बजे चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएकी सेजवाललाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।
सेजवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
हत्या अभियोगमा संलग्न साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारीअनुसार घटनाको स्पष्ट कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया