काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चामा झैँ अत्यन्तै गरिब देश नभएको दाबी गरेका छन्। उनका अनुसार, अनौपचारिक अर्थतन्त्रको प्रभावकारी गणना नभएकै कारण जनताहरू गरिब देखिएका हुन्, तर वस्तुस्थिति फरक छ।

शनिबार राजधानीमा आयोजित ‘नवयुग उद्यमशाला’ कार्यक्रममा बोल्दै पोखरेलले नेपालमा औपचारिक तथ्यांकले मात्र अर्थतन्त्रको वास्तविक स्वरूप नदेखाउने बताए। “हामी नेपालीहरूलाई गरिब भनिन्छ, तर विदेशी मुलुकमा गएर हामीले उनीहरूभन्दा धेरै खर्च गर्छौं,” पोखरेलले भने, “नेपाल सरकार गरिब हो, तर नागरिक गरिब छैनन्। यो भ्रम अनौपचारिक अर्थतन्त्र गणनाबाहिर रहेकै कारण हो।”

advertisement

महासचिव पोखरेलका अनुसार नेपालमा अनौपचारिक अर्थतन्त्र औपचारिकभन्दा पनि प्रभावशाली बन्दै गएको छ। राज्यका नीति तथा कानुनहरूले समेत यस्तो प्रणालीलाई सहज बनाइदिएको उनले टिप्पणी गरे।

उनले अर्थतन्त्रको विडम्बना औँल्याउँदै भने, “राष्ट्र बैंकबाट सार्वजनिक हुने तथ्यांक सकारात्मक छन्, बैंकमा पैसा थुप्रिएको छ, तर लगानी वृद्धि भएको छैन। राष्ट्र बैंकले तरलता सन्तुलन गर्न लगानी गरिरहेको छ, जुन राज्यको प्राथमिक जिम्मेवारी होइन।”

राजनीतिक स्थायित्वका सन्दर्भमा पोखरेलले लोकतन्त्रमा राज्य बलियो हुन नसके नागरिक पनि बलियो हुन नसक्ने स्पष्ट पारे। “हामी कर तिर्न नपरोस् भन्ने सोच राख्छौं, तर अधिकार भने सबै चाहिन्छ। कर्तव्यविहीन अधिकारको सोचले राज्यलाई प्रभावहीन बनाउँछ,” उनले चेतावनी दिए।

उनले अर्थ मन्त्रालय र राष्ट्र बैंक जस्ता प्रमुख संस्थाहरू प्रभावकारी ढंगले काम गर्न नसकेको आरोप समेत लगाए। “राज्यले जहाँ लगानी गर्नुपर्ने हो, त्यहाँ गर्न सकेको छैन। विकास, उद्यमशीलता र उत्पादनमूलक क्षेत्रहरूमा लगानीको खाँचो छ,” पोखरेलले थपे।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com