काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनदेखि विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउने व्यवस्था तत्काल लागू गर्न माग गरेको छ।
निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफलमा सहभागिता जनाउँदै रास्वपाले आउँदो कार्तिक १७ गते हुने रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनबाटै विदेशबाट मतदानको अभ्यास पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न सकिने सुझाव दिएको हो।
पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले छलफलमा बोल्दै भने, “निर्वाचनका लागि अझै तीन महिना समय बाँकी छ। एक निर्वाचन क्षेत्रमा मात्र विदेशबाट मतदानको प्राविधिक र कानुनी प्रक्रिया कार्यान्वयन गर्न यो पर्याप्त समय हो।”
उनले निर्वाचन आयोगलाई आग्रह गर्दै थपे, “यदि आयोग गम्भीर रूपमा इच्छुक छ भने यो उपनिर्वाचनमार्फत आयोगले प्रवासी नेपालीको सहभागिता सुनिश्चित गर्न पहल थाल्न सक्छ र आफ्नो प्रतिबद्धता व्यवहारमा देखाउन सक्छ ।”
रास्वपाले प्रवासी नेपालीहरूको लामो समयदेखिको मतदान अधिकारको मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक अभ्यासलाई समावेशी र सशक्त बनाउने दिशामा निर्वाचन आयोगले अग्रसरता लिनुपर्ने जनाएको छ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया