काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल बाह्य रूपमा देखिएजस्तो गरिब देश नभएको दाबी गरेका छन्। उनले औपचारिक तथ्यांकभन्दा बाहिर रहेको अनौपचारिक अर्थतन्त्रको पर्याप्त मूल्याङ्कन नभएकै कारण नेपाली जनतालाई गरिब देखाइएको तर्क गरे।
नवयुग उद्यमशालाको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, “हामी नेपालीहरूलाई गरिब भनिन्छ, तर विदेशमा गएर विदेशीहरूभन्दा बढी खर्च गर्छौं। यसको अर्थ नागरिकहरू गरिब छैनन्, सरकार गरिब छ। अनौपचारिक अर्थतन्त्र गणनामा नपरेको हुनाले यस्तो देखिएको हो।”
उनले राष्ट्र बैंकका पछिल्ला तथ्यांक सकारात्मक रहेको भन्दै देशको आर्थिक हैसियतलाई औपचारिक तथ्यांकहरूले मात्र नजोख्न आग्रह गरे।
पोखरेलका अनुसार, विकास र उद्यमशीलतामा लगानी गर्नुपर्ने अवस्थामा राज्य तरलता सन्तुलनमा समय र स्रोत खर्च गर्न बाध्य भइरहेको छ। “राज्य घाटामा छ, तर बैंकहरूमा पैसा थुप्रिएको छ। तर, लगानी हुन सकेको छैन। राष्ट्र बैंक तरलता व्यवस्थापनमै लगानी गरिरहेको छ, जब कि त्यो लगानी विकासमा जानुपर्थ्यो,” उनले भने।
उनले लोकतन्त्रमा राज्य बलियो नहुँदासम्म नागरिक बलियो हुन नसक्ने उल्लेख गर्दै नागरिक तहबाट पनि कर्तव्यबोध आवश्यक भएको बताए। “हामी कर नतिरी अधिकार माग्ने मानसिकता राख्छौं, यस्तो प्रवृत्तिले राज्य सक्षम र प्रभावकारी बन्न सक्दैन,” पोखरेलले प्रस्ट पारे।
पोखरेलका अनुसार, नेपालमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र बढी प्रभावशाली छ। तर, नीति निर्माण र कार्यान्वयनमा यसलाई समेट्न नसकिएकोले राज्य संयन्त्र कमजोर देखिएको हो। “राष्ट्र बैंक र अर्थ मन्त्रालयले अनौपचारिक अर्थतन्त्रलाई व्यवस्थित गर्न सकेको छैन,” उनले टिप्पणी गरे।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया