काठमाडौं । निजामती सेवा विधेयकमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’ प्रावधानमा गडबडी भएको विषयमा गठन गरिएको संसदीय विशेष छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ।
प्रतिवेदनलाई अन्तिम रूप दिन समिति सदस्यहरू छलफलमा जुटिरहेका छन्। प्रारम्भिक प्रतिवेदनमा त्रुटिलाई मानवीय गल्ती र गम्भीर लापरबाही दुवै रूपमा व्याख्या गरिएको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट संशोधन गरिँदा ‘कुलिङ पिरियड’को व्यवस्था विधेयकमा थपिएको थियो। तर, त्यसै विधेयकको उपदफा ५ मा त्यसलाई निष्क्रिय तुल्याउने भाषा प्रयोग भएको भन्दै विवाद उत्पन्न भएको थियो।
गडबडी कसरी भयो, को–को संलग्न थिए, र भविष्यमै यस्ता गल्ती रोक्न के गर्न सकिन्छ भन्नेबारे सुझावसहित प्रतिवेदन तयार पारिएको छ। समितिले संलग्न व्यक्तिलाई सचेत गराउने सिफारिससमेत प्रारम्भिक प्रतिवेदनमा समावेश गरेको छ।
सातदलीय समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसद सहभागी छन्। समितिलाई दिइएको समय आइतबार सकिँदैछ भने प्रतिवेदन पर्सि बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिने तयारी छ ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया