विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई बलियो बनाउन वर्तमान युवा पुस्ता, विशेषगरी जेनेरेसन जेडलाई कांग्रेससँग आबद्ध गराउनु अत्यावश्यक रहेको बताएका छन्।
विराटनगर महानगरपालिका–४ वडास्तरीय समितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले चेतावनी दिए, ‘यदि जेन्जी पुस्तालाई पार्टीप्रति आकर्षित गर्न नसकियो भने कांग्रेसको भविष्य संकटमा पर्न सक्छ।’
कोइरालाले लोकतन्त्रको संरक्षणका लागि कांग्रेस बलियो हुनु पर्नेमा जोड दिए। ‘लोकतन्त्र बिना नेपाली जनताको भविष्य कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘र, त्यो लोकतन्त्र जोगाउने शक्ति भनेकै बलियो कांग्रेस हो।’
उनको भनाइमा, लोकतान्त्रिक मूल्य र राष्ट्रिय स्थायित्वका लागि युवाहरूको सक्रिय सहभागिता अपरिहार्य छ। उनले राजनीतिप्रति बढ्दो वितृष्णा देखाउँदै भने, ‘युवापुस्ताले राजनीतिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ। वितृष्णालाई आकर्षणमा रूपान्तरण गर्नु अहिलेको प्रमुख चुनौती हो।’
डा. कोइरालाले कांग्रेसलाई आधुनिक सोचसहितको युवा नेतृत्वतर्फ डो¥याउन नसके लोकतन्त्र कमजोर बन्ने र त्यसको असर सिङ्गो देशमा पर्ने स्पष्ट पारे। उनले पार्टीभित्र युवा सहभागिता बढाउने पहल अब ढिलो गर्न नहुने उल्लेख गरे।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया