काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा, ईगो र आपसी रिसइवीका कारण कांग्रेस बारम्बार चुनावमा हारिरहेको बताएका छन्।
विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्रै एकअर्कालाई हराउने मानसिकता बढेको आरोप लगाए। “स्थानीय, प्रदेश वा संघ— जहाँ–जहाँ कांग्रेसले आफैंलाई भोट दिएको छैन, त्यहाँ हारको सामना गर्नुपरेको छ,” उनले भने।
उनका अनुसार चुनावमा व्यक्तिगत रिस फेर्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउँदै लगेको छ। “कांग्रेसले कांग्रेसलाई नै हराउने हो भने कसरी जित्न सक्छ?” उनले प्रश्न गरे।
कोइरालाले पार्टी संगठन बलियो देखिए पनि नतिजामा त्यो प्रतिबिम्ब नदेखिनु दुःखद् रहेको बताए। “कांग्रेस सशक्त भएको ठाउँमा पनि हार्ने क्रम चल्नु आफैंमा सोच्नुपर्ने विषय हो,” उनले भने।
नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई सबै नेताहरूको अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरे। उनले देशको समसामयिक समस्याबारे छलफल गर्न सत्ता गठबन्धनबाहेकका दलसँग पनि संवाद गर्नुपर्ने बताए।
“शेरबहादुरजीले सबै दलका नेतालाई चिया खुवाएर देश विकासबारे कुरा गर्नु अहिलेको आवश्यकता हो,” उनले सुझाव दिए।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया