काठमाडाैं । सङ्खुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुबाहक बस तेह्रथुमको देउराली घुम्तीमा दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्।
बा २ प ७२४४ नम्बरको बस शनिवार बिहान लालीगुराँस नगरपालिका–१ स्थित सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।
घाइतेहरूमध्ये सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्टको अवस्था गम्भीर रहेको र उनलाई तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ। अन्य घाइतेहरूको बसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा बालबालिका, वृद्धवृद्धादेखि युवा सम्म छन्। उनीहरू सबै सङ्खुवासभा र आसपासका विभिन्न स्थानका बासिन्दा रहेको जनाइएको छ।
दुर्घटनापछि बस चालक खेम महत फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रहरीले लापरबाही सम्भावनाको अनुसन्धान गरिरहेको छ।
घटनापछि उद्धार कार्यमा स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीहरू खटिएका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया