विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलाई सामान्य र सौजन्यपूर्ण भएको बताएका छन्।
शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पूर्व राष्ट्रपति भण्डारीसँग भएको भेटमा विराटनगरका केही स्थानीय प्रसङ्गसहित केही व्यक्तिगत कुराकानी मात्रै भएको स्पष्ट पारे।
उनका अनुसार, भेटका क्रममा केदार कार्की र नागेश कोइरालाको विषयमा पनि कुराकानी भएको थियो। साथै, विद्यादेवी भण्डारीले राष्ट्रपति पदमा रहेकै बेला भएका संवाद र विराटनगरमा बिताएका क्षणहरूको स्मरण गरेकी थिइन्।
कोइरालाले भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको निर्णयप्रति जिज्ञासा राख्दै त्यसबारे सोधपुछ पनि गरेको जानकारी दिए। उनले भने, “मैले उहाँलाई सोधें– तपाईं त पूर्व राष्ट्रपति भइसक्नुभयो, फेरि किन राजनीतिमा फर्किन लाग्नु भयो? उहाँले जवाफ दिनुभयो– मैले निर्णय गरिसकेको छु, अब म यो निर्णयबाट पछि हट्दिन।”
कोइरालाका अनुसार यो भेट न व्यक्तिगत स्वार्थका लागि थियो, न राजनीतिक गठबन्धनको सन्देश बोकेको। भेट शिष्टाचार र सामान्य संवादमै सीमित रहेको उनले दोहोऱ्याए।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया