काठमाडौं  ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समाजवादी धारका पार्टीहरूसँग एकता वार्ता नियमित रूपमा चलिरहेको बताएका छन्। पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्रमुख एजेन्डा नै समान विचार भएका दलहरूसँग एकता गर्नु रहेको स्पष्ट गरे।

“हामी एकीकृत समाजवादी र नेकपा (विप्लव समूह) सँग समेत संवाद गरिरहेका छौं,” उनले भने, “धेरै हल्ला नगरी निरन्तर छलफल अगाडि बढाइरहेका छौं। विचारमा भिन्नता भए पनि छलफलमार्फत सहमति बनाउँदै जाने पक्षमा छौं।”

advertisement

पार्टी फुटको आशंकाबारे उठेका चर्चालाई खारेज गर्दै पुनले माओवादी केन्द्र कुनै हालतमा नफुट्ने दृढ दाबी गरे। उनले अध्यक्ष प्रचण्ड र नेताहरूबीच देखा परेको भनिएको अन्तरसंघर्षलाई मिडिया र बाह्य शक्तिले बढाइचढाइ गरी प्रस्तुत गरिरहेको बताए।

“पार्टीभित्र उठेका विषयहरू संगठनभित्रै छलफल हुन्छन्,” उनले भने, “हल्ला गरेर केही हुँदैन। पार्टी नेतृत्व एकढिक्का छ, फुटको कुनै सम्भावना छैन।”

उपमहासचिव पुनले माओवादी केन्द्र कुनै व्यक्तिको ‘गुट’ नभएर समष्टिगत नेतृत्वमा अघि बढिरहेको उल्लेख गरे। उनले कसैले व्यक्तिगत धारणा राखेको आधारमा कारबाही नहुने प्रस्ट पार्दै, “पार्टीले अन्तिम निर्णय सामूहिक छलफलबाट गर्छ,” भने।

बैठकमा पार्टी एकताबद्ध राख्ने र विचार मिल्ने शक्तिसँग संगठन विस्तार गर्ने साझा लक्ष्यमा माओवादी केन्द्र अघि बढ्ने रणनीति तय गरिने उनले जानकारी दिए।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com