काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशलाई समृद्ध बनाउने लक्ष्यका लागि परम्परागत सोच छाडेर जोखिम मोलेर अघि बढ्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुकको विकासका लागि नयाँ पुस्ताले “म बनाउँछु मेरो देश” भन्ने भावनाका साथ उद्यमशील र नवप्रवर्तनकारी सोच ल्याउनुपर्नेमा जोड दिए।
“अब पनि निर्वाहमुखी, पारिवारिक र गुजारामुखी ढाँचामा अडिएर बस्यौं भने हामी फेरि पनि अभावको चक्रबाट बाहिर निस्कन सक्दैनौं,” पोखरेलले भने, “हामीकहाँ कम्पनीहरू अझै पनि पारिवारिक स्वार्थभित्र सीमित छन्, साँचो अर्थमा सार्वजनिक बन्न सकेका छैनन्।”
पोखरेलले नेपाललाई गरिब देशको रूपमा मात्रै हेर्ने धारणा चिर्दै देशमा अपार सम्भावना रहेको उल्लेख गरे। उनले रेमिट्यान्सको ठूलो हिस्सा नेपालमा कार्यरत भारतीय श्रमिकहरू मार्फत बाहिरिने अवस्था चिन्ताजनक भएको पनि बताए।
“देशको सामर्थ्य बुझेर काम गर्यौं भने हामी आफैँले समृद्ध नेपाल बनाउन सक्छौं,” पोखरेलले भने, “तर त्यसका लागि जोखिम लिन तयार हुनुपर्छ।”
कार्यक्रममा रिटर्नी फेडेरेशन नेपालका अध्यक्ष विनोद भट्टराईले वैदेशिक रोजगारीबाट फर्केका युवालाई मुलुकमै लगानी गर्न अनुकूल वातावरण तयार पार्नुपर्ने आवश्यकता औंल्याए। उनले नवयुग इन्भेष्टमेन्ट कम्पनीजस्ता पहलहरूले युवालाई स्वदेशमै अवसर खोज्न हौसला दिने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया