हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ आइतबार पदबाट राजीनामा दिने तयारीमा छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलपछि उनले तीन जना मन्त्रीलाई यथास्थानमा राख्ने सर्तमा पद त्याग गर्न सहमति जनाएका हुन्।
मुख्यमन्त्री लामाको निकटताका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारका अनुसार, साउन १४ गते मन्त्रीमा नियुक्त गरिएका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिनुपर्ने अडान लामाले राखेका थिए। देउवा र संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँले सो सर्त स्वीकार गरेपछि राजीनामाको बाटो खुलेको हो।
चित्रकारले भने, “हामीले तीन मन्त्रीलाई कायम राख्नुपर्ने माग राख्यौं, सभापतिज्यू र बानियाँ दुवैले सहमति जनाउनुभयो। त्यसपछि आइतबार राजीनामा दिने निर्णय भयो।”
मुख्यमन्त्री लामाले आइतबार हेटौंडामा मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलन गर्दै राजीनामा दिने बताइएको छ। कांग्रेस संसदीय दलको नेतामा साउन १४ गते भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि लामा पार्टीभित्रको चापमा थिए।
देउवाले शुक्रबार लामा निवासमा बोलाएर राजीनामा दिन आग्रह गरेका थिए। शनिबारको छलफलमा बानियाँ, लामा र उनका समर्थक १४ जना सांसदको सहभागिता रहेको थियो। छलफलमा पार्टीभित्रको अन्तर्विरोध समाधान गर्दै अगाडि बढ्ने सहमति समेत भएको चित्रकारले जानकारी दिए।
यता, लामाको राजीनामा स्वीकृत गर्ने संवैधानिक जिम्मेवारीमा रहेका प्रदेश प्रमुख डा. दीपक प्रसाद देवकोटा भने अझै अस्पतालमै छन्। मूत्रनलीमा संक्रमण देखिएपछि उनी ग्राण्डी अस्पताल, काठमाडौंमा उपचाररत छन्।
देवकोटाको अनुपस्थितिले नयाँ सरकार गठन प्रक्रिया केही ढिलाइ हुन सक्ने देखिएको छ। तथापि, कांग्रेस नेतृत्वले आन्तरिक सहमति जुटाएर प्रक्रियागत काम अगाडि बढाउने तयारी गरिरहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया