भारत । आकाशमा उडिरहेको जहाजभित्रै यात्रुबीच भएको अप्रत्याशित घटनाले सामाजिक सञ्जालमा ठूलो चर्चा बटुलेको छ। मुम्बईबाट कोलकातातर्फ गइरहेको इन्डिगो एयरलाइन्सको उडान (फ्लाइट नम्बर ६ ई१३८ ) का एक यात्रुले सँगैको सिटमा बसेका अर्का यात्रुलाई थप्पड हानेका हुन्।
भिडिओमा देखिएअनुसार उक्त घटना जहाज उडेपछि भएको हो। असमको कछार जिल्लाको काटिगोरा क्षेत्रअन्तर्गत लाथिमारा गाउँका ३२ वर्षीय हुसैन अहमद मजूमदारलाई उडानका क्रममा ‘प्यानिक अट्याक’ आएको बताइएको छ। डर र असहजताका कारण हुसैन अचानक आफ्नो सिटबाट उठेर विमानबाट बाहिर निस्कन खोजे।
उनीलाई सम्हाल्नका लागि जहाजको क्याबिन क्रू र अन्य यात्रुहरूले प्रयास गरिरहेका बेला, सँगै बसिरहेका एक यात्रुले हुसैनलाई एक्कासि थप्पड हाने। उक्त घटनाको भिडिओ अन्य यात्रुहरूले मोबाइलमा खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्, जुन भाइरल भएको छ।
थप्पड हान्ने यात्रुलाई क्याबिनका कर्मचारी र अन्य यात्रुहरूले तत्काल घेराबन्दी गरी सोधपुछ गरेका थिए। “यो मान्छेले हामीलाई समस्या बनायो,” भन्दै आफूले थप्पड हान्नुको कारण बताए पनि, अरू यात्रुहरू उनको व्यवहारप्रति आक्रोशित देखिएका थिए। थप्पड खाएपछि हुसैन झनै आत्तिएका थिए र रुन थालेको दृश्य भिडिओमा देखिन्छ।
कोलकातामा जहाज अवतरण भएपछि थप्पड हान्ने व्यक्तिलाई विमानस्थल सुरक्षा अधिकारीको जिम्मा लगाइएको छ। इन्डिगो एयरलाइन्सले पनि घटनाप्रति गम्भीर ध्यान दिएको जनाउँदै आन्तरिक छानबिनका आधारमा आवश्यक कारबाही गरिने जनाएको छ।
भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार, ती यात्रुमाथि आगामी दिनमा उडान प्रतिबन्ध लगाइन सक्ने सम्भावना छ। थप्पड हान्ने यात्रुको परिचय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया