काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गणेशमान सिंह बीपी कोइरालाको बौद्धिक प्रभावमा परेर कांग्रेसमा लागेको दाबी गरेका छन्।
शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २८औँ स्मृति दिवसमा बोल्दै ओलीले भने, “यदि गणेशमानजीसँग हामीसँग अझ गहिरो संवाद भएको भए, उहाँ पनि कम्युनिष्ट आन्दोलनमै आउन सक्नुहुन्थ्यो। तर बीपी कोइरालाको गहिरो बौद्धिक प्रभावका कारण कांग्रेसतर्फ लाग्नुभयो।”
प्रधानमन्त्री ओलीले स्व. गणेशमान सिंह र नेकपा संस्थापक नेता पुष्पलाल श्रेष्ठबीचको ऐतिहासिक सम्बन्धलाई पनि स्मरण गरे।
“गणेशमानजी शहीद गंगालालका घनिष्ठ मित्र थिए। गंगालालका दाजुका साथी भएकाले पुष्पलालले गणेशमानलाई सदैव गहिरो सम्मान गर्नुभयो,” ओलीले भने, “उनीहरू दुवैले एउटै दिन प्रजा परिषद्को सदस्यता लिएका थिए। गणेशमान सिंहले युवावस्थामै सर्वस्वसहित जन्मकैदको सजाय भोगेका थिए। यसरी नै पुष्पलाल गंगालालबाट प्रेरित भएर राजनीतिमा लाग्नुभएको हो।”
ओलीका अनुसार पुष्पलालले किशोर वयमै देशभक्तिपूर्ण र वामपन्थी राजनीति बुझ्न थालेका थिए। त्यही विचारधाराले उहाँलाई कम्युनिष्ट आन्दोलनतर्फ डोर्यायो।
“गंगालालको हत्यापछि पुष्पलालले प्रजा परिषद्को विघटनपछि ‘नेपाल प्रजातान्त्रिक संघ’ स्थापना गर्नुभयो। पछि कांग्रेसको चरित्र बुझेर त्यसबाट अलग भई कम्युनिष्ट पार्टीको जग बसाल्नुभयो,” प्रधानमन्त्री ओलीले स्पष्ट पारे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको राजनीतिमा अग्रजहरूले देखाएको मार्गदर्शनलाई अझ मजबुत बनाउँदै अधुरा रहेका सपना पूरा गर्न आजको पुस्ताले भूमिका खेल्नुपर्ने धारणा पनि राखे।
“हाम्रो दायित्व अब ती नेताहरूले देखेको सपना पूरा गर्नु हो। उनीहरूले सुरु गरेको संघर्ष आजको पुस्ताले सशक्त रूपमा अगाडि बढाउनुपर्छ,” उनले जोड दिए।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया