काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मभक्त माथेमालाई नेपालका प्रथम बडिबिल्डर भएको दाबी गरेका छन्।
शनिबार च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धर्मभक्त माथेमाले राजा त्रिभुवनलाई बडिबिल्डिङ प्रशिक्षण दिएको उल्लेख गरे।
‘धर्मभक्त माथेमा दरबारका पहिलो बडिबिल्डर थिए। कुस्तीबाज त तराईतिर पहिले देखिन्थे, तर बडिबिल्डिङ भनेको छुट्टै कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालको इतिहासमा बडिबिल्डरको नाममा उहाँभन्दा अगाडिको उदाहरण भेटिँदैन।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव अधिकारका पक्षमा आवाज उठाउने पहिलो व्यक्ति शहीद गंगालाल श्रेष्ठ रहेको दाबी पनि गरे।
‘गंगालाल नै पहिलो मानव अधिकार संस्थाका संस्थापक हुन्। उहाँले १९९७ सालमा प्रजातन्त्रको माग गर्दै दिएको भाषणपछि भूमिगत हुनुपरेको थियो,’ प्रधानमन्त्री ओलीले स्मरण गरे।
प्रधानमन्त्री ओलीले अग्रज नेता तथा शहीदहरूको योगदानको स्मरण गर्दै उनीहरूका अधुरा सपना पूरा गर्न आजको पुस्ताले जिम्मेवारी बोक्नुपर्नेमा पनि जोड दिए।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया