विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जेनरेसन जेड अर्थात् वर्तमान युवा पुस्तालाई पार्टीसँग आबद्ध गर्न नसके कांग्रेसको भविष्य संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
शनिबार विराटनगर महानगरपालिका–४ द्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै डा. कोइरालाले लोकतन्त्रको जगेर्ना गर्न बलियो कांग्रेस आवश्यक रहेको बताए। उनले भने, “कांग्रेस कमजोर भयो भने लोकतन्त्र नै कमजोर हुन्छ, र लोकतन्त्र कमजोर भयो भने नेपाली जनताको भविष्य अन्धकारमा पर्छ।”
उनले लोकतन्त्र अहिलेको नेपाली समाजको आधारभूत आवश्यकतामध्ये एक भएको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण गर्न कांग्रेसलाई बलियो बनाउनु अपरिहार्य रहेको बताए।
डा. कोइरालाले वर्तमान युवामा राजनीतिक प्रणालीप्रति बढ्दो वितृष्णा देखिएको उल्लेख गर्दै यसलाई विश्वास र आकर्षणमा बदल्नु आजको प्रमुख चुनौती भएको बताए। “राजनीतिप्रति युवाहरूको भरोसा घट्दै गएको छ,” उनले भने, “तर हामीले तिनै युवाहरूलाई लोकतन्त्र र विकासको यात्रामा सहभागी गराउन सक्नुपर्छ।”
उनले लोकतन्त्रको स्थायित्व, सुशासन र समृद्धिको आधार निर्माणमा कांग्रेसको ऐतिहासिक भूमिका रहेको स्मरण गराउँदै त्यसलाई युवा पुस्तासमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिए
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया